त्यो रात आइपिएलको फाइनल खेल हुँदै थियो। भाइ टिभी हेर्नमा मस्त थियो। यस्तै रातको साढे दस बजेको हुँदो हो। मेरो मोबाइलमा घण्टी बज्यो। यस्सो हेरें, ल्यान्डलाइन र एनसेलका नयाँ नम्बरहरु देखिए। त्यही कोठामा टिभी भएका कारण म आधा निद्रा र आधा ब्युझिँएको अवस्थामा थिएँ। हेर्दाहेर्दै ५ पटक मिस्ड कल आइसकेछन्। तर मलाई उठाउने जाँगरै चलेन।
सोचेँ, यति राति मलाई कसैले नयाँ नम्बरबाट किन कल गर्नु? त्यस्तो जरुरी के नै पर्यो होला र?एकैछिनमा अर्को कोठाबाट ममी केही डराएजस्तो गरी मोबाइल बोकेर आइपुग्नुभयो। ‘बुनु, भाइको फोन छ हस्पिटलबाट।’ झसंग भएँ, निद्रा त एकैछिनमा गायब। उताबाट आवाज आयो, ‘तपाईँ अहिले नै हस्पिटल आइहाल्नुपर्यो। अङ्कलले तपाईँलाई नै बोलाइदे भन्दै हुनुहुन्छ। केही नसोध्नू अरु, आन्टीलाई केही नभन्नू, छिटो निस्किनू प्लिज।’ फोन गर्ने भाइ मेरो ठूलोबुवाको छोरा थियो जो केही दिन देखि हामीसँगै बसिरहेको थियो। पछाडि बाबाकै केही गुनगुन आवाज आइरहेको थियो। बुनु भन्ने शब्द कताकता सुनेझैं लाग्थ्यो। म अवाक भएँ, मुखबाट बोली फुटेन। एकैछिन अगाडि साढे आठ बजेतिर बाबालाई खाना खुवाएर हस्पिटलबाट घर आएको थिएँ। फोन राखेँ। सानोभाइलाई ‘स्कुटर स्टार्ट गर, हामी हस्पिटल जानुपर्छ’ भनेँ। ऊ पनि केही बोल्न सकेन। तल झरिहाल्यो। मैले दराजबाट स्वेटर र सल झिकेँ। ममीलाई भनेँ, ‘औषधी ल्याउनुपर्यो रे, अर्कै ठाउँबाट, म आइहाल्छु हजुर टेन्सन नलिई सुत्नू।’ सधैं प्यारो लाग्ने घर भूतबङगलाजस्तै लाग्दै थियो त्यो रात। कोही थिएनन् अरु। तल भाडामा बस्ने दाइहरु झापातिर गएका थिए।
Me with Baba during Mustang trip, 2070 Baisakh |